• paurakheemtp@gmail.com
  • +977 -81 -551041
  • 9848055700

सामान्यतया एकल र बहुउद्देश्यीय गरी दुई प्रकारले स्थापना हुने गरेका सहकरीमध्ये पौरखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एक बहुउद्देश्यीय सहकारी संस्था हो । यो संस्था सहकारी ऐन २०४८ को दफा ५ बमोजिम सहकारी डिभिजन कार्यालय, बाँकेमा २०६४-०३-३१ गते दर्ता भएको हो । एक हजारका दरले २५ जनाको सानो समूह जम्मा रु. २५००० बाट सुरु भएको यो सहकारी संस्था स्थापना कालदेखी नै क्रीयाशिल रहेको छ । स्थानीय लग्दहवा मा. वि को प्राङ्गणमा यस संस्थाको प्रारुप भएको थियो । प्रारम्भमा वेदराज अमृतज्यूले निशुल्क रुपमा प्रदान गर्नु भएको एउटा कोठा रहेर सेवा सञ्चालन गरेको यस संस्थाले हाल कारकाँदो चोक स्थित एउटा पुरै घर भाडामा लिई विभिन्न प्रकारका बचत तथा ॠण कार्यक्रम, सुपथ मूल्य पसल, मलखाद, विउ विजन खरिद विक्री, खाना पकाउने ग्याँस सिलिन्डरको होम डेलिभरी सेवा लगाएतका आर्थिक कार्यक्रम गर्दै आईरहेको छ । यसै गरी आयआर्जन तथा सिप विकास तालिम, सहकारी शिक्षा तथा चेतना अभिबृद्धि कार्यक्रम, छात्रछात्रा उत्प्रेरणा, ॠणी र बचतकर्ता सम्मान कार्यक्रम, उत्कृष्ट व्यक्ति सम्मान कार्यक्रम, सदस्य विपद सहयोग कार्यक्रमजस्ता सामाजिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । कार्य सञ्चालन समिति, लेखा सुपरीवेक्षण समिति, ॠण उपसमिति, सल्लाहकार समिति र अन्य विभिन्न उपसमिति लगायत सेयर सदस्यहरुको सामूहिक पारस्परिक सहयोग र कर्मचारीको लगनशिलताले सञ्चालक समितिले संस्थाको गतिविधी तिव्र रुपमा अघी बढाई रहेको छ । विभिन्न कार्यक्रममार्फत सहज रुपमा सेवा प्रदान गर्दै आएको यस संस्थाले संस्थागत रुपमा अन्य आर्थिक, सिपमूलक आय तथा सार्थ लघु उद्योग समेतका कार्यक्रमको योजना बनाई रहेको छ । यस क्रममा अवलोकन भ्रमणमार्फत नेपालमा रहेका उत्कृष्ट एवं सफल सहकारीहरुका गतिविधीहरुको जानकारी लिने, अनुभव आदानप्रदान गरी संस्थागत विकासलाई अगाडि बढाई रहेको छ । पौरखी स्मारिकाको प्रकाशनबाट सहकारी सम्बन्धी विविध जानकारी सेयर सदस्यहरुलाई उपलब्ध गराई सहकारीको महत्त्व र आवश्कता बोध गराई अझ बढी सक्रिय बनाउन मदत पुग्ने विश्बासले यो प्रकाशन गरिएको छ । संस्था सहकारी र सरकारले प्रदान गर्ने स्थानीय र केन्द्रीय तहसम्मका विभिन्न तालिम कार्यक्रममा सहभागी हुँदै आईरहेको छ । साथै आफ्ना सदस्यहरुलाई तालिम प्रशिक्षण गराउँदै पनि आइरहेको छ । समयमै मासिक रिपोर्ट पेस गर्ने, पक्षपात नगरी सेवा प्रदान गर्ने, नियमित रूपमा साधारण सभा गर्ने, सहकारी र सहकारी सम्बद्ध निकायका नियमहरुको पालना गर्ने, पारदर्शी र प्रजातान्त्रिक व्यवहार गर्ने र संस्थागत आचरणमा सुव्यवस्थित रूपमा सञ्चालन हुँदै आएको यस संस्थाले नेपाल सरकार र जिल्ला पशु सेवा कार्यालयबाट अनुदान समेत पाउन सफल भएको छ । किसानहरुलाई बिना कुनै भेदभाव सहकारी र कृषि सामग्री कम्पनी लिमिटेडले तोकेको मापदण्ड अनुसार सर्वसुलभ रूपमा मलखाद सेवा उपलब्ध गराई रहेकाले कृषि सामाग्री कम्पनी लिमिटेडले हालसम्म हाम्रो सहकारीलाई राम्रो मूल्याङ्कन गरेको हामीले अनुभूति गरेका छौँ ।आर्थिक पारदर्शिता, तर्कसंगत व्यवहार र सदस्यमूखी सेवा यस संस्थाका विशेषता हुन । मुलभूत रूपमा सदस्यहरुको पौरखमा विश्वास गर्ने यस पौरखी सहकारीले भावी दिनमा एम्बुलेन्स सेवा, उद्योगहरुको स्थापना, स्कुल, सञ्चालन, व्यापार व्यवसाय जस्ता सामाजिक तथा आर्थिक कार्य योजनाको अवधारणा राखेको छ । कोषाध्यक्षको रूपमा रहेर मैले यस संस्थाबाट पाएको ज्ञान र अनुभवलाई विस्तार गर्दै जिवननोपयोगी बनाउन प्रयासरत छु । देशकाल परिस्थितिको प्रतिकुलताको तात्विक रूपमा ठोस कार्यक्रम प्रक्षेपण गर्न नसकिए पनि सापेकक्षित रूपमा सहकारीका मूल्य, मान्यता र सिद्धान्त अवलम्बन गरी अघी बढी रहेको यस संस्थाले आजका दिनसम्म आईपुग्दा सानै उमेरमा पनि विभिन्न क्रियाकलाप र सहकारीका आधारभूत अनुभवहरु बटुली सकेको छ ।